टुकु माया खड्का ः सर्लाही १२ असार । टिपरको ठक्करबाट सर्लाहीको कबिलासी वडा नं ८ अर्गवा बस्ने सचिन साहको मृत्यु भएको छ । लालबन्दी नगरपालिका वडा नं ५ मेजरगंज स्थित भित्री सडकमा जब्दी बाट लालबन्दी तर्फ जादै गरेको ना २ क ५०१ नम्बरको टिपरले साईकलमा सवार साहलाई ठक्कर दिदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । हिजो करिब ८ बजे राती टिपरको ठक्करबाट गम्भीर घाईते भएका दिनेश साहको २० वर्षिय छोरा सचिन साहलाई उपचारको लागि प्रादेशिक अस्पताल मलंगवा ल्याइएपनि चिकित्सकहरुले साहलाई मृत घोषणा गरेका थिए । घटनाबाट आक्रोशित बनेका स्थानीयले टिपरमा आगजनी समेत गरेका थिए । आगजनीबाट टिपरको अगाडिको भाग पुर्णरुपमा क्षतिभएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । घटनापछि फरार रहेको टिपर चालकको खोजतलास भईरहेको छ । क्रेनको सहायताले टिपरलाई जिल्ला ट्राफिक कार्यालय नवलपुर सर्लाहीमा राखिएको छ ।
