बिहिबार, असार १८, २०८३
Thu, July 2, 2026

चक्रघट्टा गाउँपालिकाको आगामी वर्षको नीति तथा कार्यक्रम सार्वजनिक

चक्रघट्टा गाउँपालिकाको १५ औ गाउँ सभा सम्पन्न

सर्लाही टुडे समाचारदाता :
सर्लाही ७ असार । “समृद्ध चक्रघट्टाको आधार! शिक्षा, स्वास्थ्य, कृषि, जनशक्ति र पूर्वाधार!!“ भन्ने मूल नाराका साथ चक्रघट्टा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। गाउँपालिकाका अध्यक्ष कृष्ण कुमार यादवले शुक्रबार सम्पन्न १५औँ गाउँसभाबाट अनुमानित आय–व्यय विवरणसहित नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्।
गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ४५ करोड ६० हजार रुपैयाँको अनुमानित बजेट प्रस्ताव गरेको छ। सो बजेटमा आन्तरिक राजस्वबाट ६३ लाख, राजस्व बाँडफाँडबाट ९ करोड १३ लाख ४५ हजार, वित्तीय समानीकरण अनुदानबाट ९ करोड ४० लाख, र सम्पूरक अनुदानबाट ७२ लाखको योगदान हुने अनुमान गरिएको छ।
त्यस्तै, सशर्त चालू खर्चतर्फ १२ करोड ४९ लाख, पूँजीगततर्फ ४ करोड ९८ लाख र प्रदेश सरकारबाट ६५ लाख १५ हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।
गाउँपालिकाले कृषि क्षेत्रलाई उत्पादनमुखी बनाउन विशेष जोड दिएको छ। कृषि योग्य जमिनमा आवश्यकता अनुसार बोरिङ जडान, कृषि मिटर तथा विद्युतिकरणको व्यवस्था गरिने बताइएको छ। पशुपालन तथा कुखुरा पालनमा संलग्न किसानलाई व्यवसाय दर्ता गराई, गाउँपालिकासँग साझेदारीमा विशेष अनुदान उपलब्ध गराउने योजना समेत नीति तथा कार्यक्रममा समावेश गरिएको छ।
गाउँसभा समारोहमा प्रमुख अतिथि नेपाल सरकारका पूर्व रक्षामन्त्री हरि प्रसाद उप्रेती, विशिष्ट अतिथि मधेश प्रदेशका पूर्व अर्थमन्त्री संजय कुमार यादव तथा ९ वटै वडाका वडा अध्यक्ष, कर्मचारी र स्थानीय नागरिकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
स्थानीय आवश्यकता र सम्भावनालाई सम्बोधन गर्ने गरी प्रस्तुत गरिएको नीति तथा कार्यक्रममार्फत समावेशी विकास र दिगो समृद्धिको बाटो तय हुने अपेक्षा गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट