सर्लाही टुडेसमाचारदाता : सर्लाही ५ जेठ : सर्लाहीमा ३ सन्तानकी आमासँगको प्रेम सम्वन्धका कारण २८ वर्षीय युवकको हत्या भएको छ। हत्या आरोपमा प्रहरीले मृतककी प्रेमिका र उनका पतिसहित ६ जनालाई पक्राउ गरेको छ । चन्द्रनगर गाउँपालिका–१, किसनपुरका २८ वर्षीय अरविन्दकुमार पण्डित कुम्हारको हत्या आरोपमा अरविन्दकी प्रेमीका ईश्वरपुर नगरपालिका–६, चिरानटोलकी २५ वर्षीया नजिमा खातुन, उनका पति २९ वर्षीय मोस्तकिम अन्सारी ४३ वर्षीय मोहम्मद हुसेन मोमिन, ४० वर्षीय सुयब अन्सारी, २५ वर्षीय कोनूर आलम अन्सारी र ५४ वर्षीय सलाउद्दिन अन्सारी पक्राउ परेका छन्। पक्राउ परेकालाई आज पत्रकार सम्मेलन गरि सार्वजनिक गरिएको हो ।

सर्लाही प्रहरीका अनुसार अरविन्द र नजिमा खातुन लामो समयदेखि प्रेम सम्वन्धमा थिए। अरविन्द अविवाहित हुन भने नजिमा तीन सन्तानकी आमा हुन। उनीहरु गत १९ चैतमा घरबाट भागेर भारत पगेका थिए। क्रिब एक महिना पछि २० वैशाखमा घर फर्किएका उनीहरुलाई गाउँमा बसेको पञ्चायतले छुट्याएको थियो। पञ्चहरुले नजिमालाई पति मोस्तकिम सँगै वस्नुपर्ने निर्णण सुनाए । तर, त्यसपछि पनि अरविन्द र नजिमाको सम्बन्ध छुटेन। अरविन्द नजिमालाई भेट्न पटक–पटक उनको घरमै पुग्न थालेपछि परिवारले मिलेर उनको हत्या गर्ने योजना बनाएको जिल्ला प्रहरी कार्यालयले आयोजना गरेको पत्रकार सम्मेलनमा एसपी योगन्द्र खडकाले बताए ।
योजना अनुसार अरविन्दलाई २८ वैशाखको विहान ईश्वरपुर नगरपालिका–६ मा रहेको फूलजोर बाबा मन्दिरमा बोलाईएको थियो। त्यहाँबाट नियन्त्रणमा लिई ईश्वरपुर–८ स्थित फूलजोर खोला नजिकै लगेर नाक र मुख थुनेर हत्या गरेको खुलेको प्रहरीले जनाएको छ। अरविन्दको हत्या गरेपछि झ्यासले शव छोपेर सवैजना घर फर्किएका थिए। भोलिपल्ट (२९ वैशाखको राति) पुनः अरविन्दको शवलाई ईश्वरपुर नगरपालिका–८, थकरिया चौरीमा रहेको उखु बारीमा लगेर फालिएको थियो। ३० वैशाखको विहान अरविन्दको शव फेला परेको थियो। सुरुमा शवको सनाखत भएन। ३१ वैशाखमा मृतकका दाजु अशोककुमारले शवको सनाखत गरेका थिए।
प्रारम्भिक अनुसन्धानमा अरविन्दको हत्यामा प्रेमीका नजिमा, उनका पति मोस्तकिमसहित ६ जनाको प्रत्यक्ष संलग्नता देखिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका एसपी खड्काले वताए। उनीहरुविरुद्ध कर्तव्य ज्यान मुद्दामा अनुशन्धान गर्न सर्लाही जिल्ला अदालतबाट ७ दिनको म्याद लिईएको प्रहरीले जनाएको छ।
