सर्लाही टुडे समाचारदाता : सर्लाही १५ चैत्र । प्रस्तावित संघीय लोकतान्त्रिक गठबन्धनले हिजो सर्लाही जिल्ला रामनगर २ घटनाका पीडित परिवारहरूसँग भेटघाट गर्दै उनीहरूको दुःखमा ऐक्यबद्धता जनाएका छन् । गठबन्धनका प्रमुख नेताहरू रामनगर गाउँपालिका–२ का मृतक मोहर मिया र घाइतेहरूको परिवारसँग भेट गरि घटनाको विस्तृत जानकारी लिएका छन् ।
फागुन २४ गते दुई रामनगर गाउपालिका वडा नं २ स्थित स्थानीय क्रिकेट खेलाडीहरुको बीचमा सामान्य कुटपिट र चोटपटकको घटनालाई राजनिति र जातिय नारा लगाएर केही असामाजिक र अपराधिक समुहले योजनाबद्ध तरिकाले फागुन २५ गते प्रहरी चौकीमा छलफल हुनुभन्दा पहिल्यै मोहर मिया लगायत माथि ज्यानै जाने गरि निर्मम तरिकाले कुटपिट गरे,फलामको रडले अपराधिक समुहबाट कुटिएका ७३ वर्षिय मोहर मियाको टाउकामा गम्भीरु चोट लाग्यो,उपचारको लागि बिरगन्ज लगिएपनि त्याहा चिकित्सकले मियालाई मृत घोषना गरिसकेका थिए । सोही समुहको आक्रमणमा परि अन्य चार जना घाईते समेत भए । धाईते हुनेहरुमा असलम मिया,सकुर मिया,नसिम मिया र सैनुल मिया दर्जी छन ,जसमध्ये करिब ७५ वर्षिय सैनुल मिया दर्जी सिकिस्त हुन ,उनको छातीमा गम्भीर चोट लागेको मृतक मोहर मियाका परिवार तथा घाइतेहरुले स्वंम गठबन्धका नेतादय समक्ष आफनो पिडा पोखेका छन । उनीहरुका अनुसार ती आपराधिक समुहले न त बच्चा हेर्यो न त बुढो ,सबै माथि एकनास लटठी,फटहा तथा फलामको रड प्रयोग गरे जसमा ७३ वर्षिय मोहर मियाको मृत्यु नै भयो भने ७५ वर्षिय अझै सिकिस्त छन,र अन्य घाईते हुन पुगे ।

गठबन्धनका नेताहरूले यी घटनामा संलग्न दोषीहरूमाथि कडा कानुनी कारबाहीको माग गर्दै पीडित परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गरेका छन् । पछिल्लो समय देशभर जातीय तथा धार्मिक आधारमा भइरहेका हिंसात्मक घटनाहरू, हत्या, बलात्कार तथा अपराधका घटनाप्रति राज्य गम्भीर हुनुपर्ने भन्दै गठबन्धनले सरकारलाई कडा सन्देश दिएको छ ।
नेपाल सङ्घीय समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व गृह राज्यमन्त्री मोहम्मद रिजवान अन्सारी ज्यूले सरकारलाई असामाजिक , आपराधिक तत्वहरू तथा धार्मिक तथा जातीय अतिवादीहरूलाई समयमै नियन्त्रण गर्न नसके मुलुक गम्भीर दुर्घटनामा फस्न सक्ने चेतावनी दिएका छन् । राज्यले यदि अपराधीहरूलाई संरक्षण गर्ने वा कानुनी कारबाहीमा ढिलाइ गर्ने प्रवृत्ति कायम राखेमा देशमा सामाजिक सद्भाव खल्बलिने अन्सारीले बताए ।
भेटघाट कार्यक्रममा नेपाल संघीय समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष मो. रिजवान अंसारी, बहुजन एकता पार्टी नेपालका राष्ट्रिय अध्यक्ष हरिनन्दन कुमार रंजन, सर्लाही क्षेत्र नम्बर–४ का प्रतिनिधि सभा प्रत्यासी राजाराम पासवान,नेपाल जनजागृती पार्टीका केन्द्रीय अध्यक्ष डी.पी. निषाद सहनी, प्रदेश सभा सदस्य मा. विमला अंसारी लगायतका नेताहरू सहभागी थिए । यसै क्रममा गठबन्धनले बसबरिया–२ मानपुरका मृतक राजीव पासवान र धनञ्जय रायका परिवारहरूसँग पनि भेटघाट गरी घटनाको विस्तृत जानकारी लिएका छन् ।
घटनाको निष्पक्ष छानबिन र न्यायको माग
गठबन्धनले यी दुबै घटनाको निष्पक्ष छानबिन गर्नका लागि स्वतन्त्र न्यायिक छानविन समिति गठन गर्न सरकारलाई आग्रह गरेको छ । गठबन्धनका नेताहरूले सरकारले शान्ति सुरक्षालाई प्राथमिकता नदिए जनता स्वयं आन्दोलनमा उत्रिन बाध्य हुने बताएका छन् । उनीहरूले आपराधिक घटनाहरूको निराकरणका लागि राज्य संयन्त्रलाई प्रभावकारी बनाउन, पीडितलाई शीघ्र न्याय दिन र अपराधीहरूलाई कडा सजाय दिन माग गरेका छन्। संघीय लोकतान्त्रिक गठबन्धनले आगामी दिनमा पनि पीडित समुदायको पक्षमा उभिने प्रतिवद्धता व्यक्त गर्दै देशव्यापी रूपमा शान्ति, न्याय र समानताको लागि संघर्ष जारी राख्ने समेत घोषणा गरेको छ ।
