सर्लाही १० फागुन । सर्लाहीको हरिपूर्वा नगरपालिकामा शुुक्रबारबाट १५ शैय्याको नगर अस्पताल संचालनमा ल्याइएको छ । हरिपूर्वा नगरपालिका वडा नं. २, मा निर्माण गरिएको अस्पतालको शुक्रबार नगरप्रमुख विनोदकुमार साह तेली, सर्लाहीका प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठ र उपप्रमुख सुमित्रादेवी ग्वारनीले शिलालेख अनावरण तथा रिबन काटेर संयुक्तरुपमा उद्घाटन गरेका हुन् ।
हरिपूर्वा नगरपालिकाका प्रमुख साहले अस्पताललाई आवश्यक पर्ने स्वास्थ्य सामग्री खरिद, चिकित्सक र अन्य स्वास्थ्यकर्मी नियुक्त गरी नगर अस्पताल संचालनमा ल्याइएको बताए ।

अस्पताल संचालनका लागि दुुई जना एमबिबिएस चिकित्सक, एक जना रेडियोग्राफर, आँखासम्वन्धी रोगको उपचार गर्ने एक जना स्वास्थ्यकर्मी र तीन जना सिनियर अहेब नियुक्त गरिएको छ । ५ जना जग्गादाताले प्रदान गरेको १० कठ्ठा जग्गामा अस्पताल भवन निर्माण गरेर संचालनमा ल्याइएको हो ।
नगरपालिकाले अस्पताल उद्घाटन समारोहमा शुक्रबार जग्गादातालाई कदर–पत्रसहित सम्मान गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सिकिन्द्रप्रसाद साहले बताएका छन् । अस्पतालका जग्गादाता विनोद साहले लामो समयदेखि कुदाकुर्दै आफूहरुले प्रदान गरेको जग्गामा अस्पताल संचालन हुँदा हर्षित भएको बताए ।
कार्यक्रमलाई सम्वोधन गर्दै सर्लाहीका प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठले आधारभूत स्वास्थ्य सेवा प्रदान गर्ने पालिकाको जिम्मेवारी भएकाले नगर अस्पताललाई संचालन गर्न सुुझाव दिए ।
लामो प्रतिक्षापछि अस्पताल संचालनमा आएसँगै हरिपूर्वा क्षेत्रका स्थानीय वासिन्दा खुसी भएका छन् । अस्पताल भवनको उद्घाटन कार्यक्रमको संचालन योजना शाखाका कर्मचारी डोरबहादुर तामाङले गरेका थिए भने प्रशासकीय अधिकृत कुमार परियारले स्वागत मन्तव्य व्यक्त गरे ।
