बरहथवा र लालबन्दी नगरपालिकाको बजेट सर्वसम्मत पारित

राजनीति समाचार

३१ असार सर्लाही: सर्लाहीको लालबन्दी र बरहथवा नगरपालिकाले वुधवार एकैसाथ आर्थिक वर्ष २०७७|०७८ को बजेट सर्वसम्मत पारित गरेका छन् ।

असार १० गते दुवै नगरपालिकाको पाचौँ नगर सभामा प्रस्तुत नीति, कार्यक्रम तथा बजेटमा दफाबार छलफल गरी वुधवार सार्वजनिक गरिएको हो । जस अनुसार लालबन्दी नगरपालिकाले १ अर्ब २० करोड ९८ लाख ९९ हजार ४९८ रुपैयाँ बजेट प्रस्तुत गरेको नगरपालिकाका प्रवक्ता एवं वडा नं. ८ का वडाध्यक्ष राजनकुमार श्रेष्ठले जानकारी दिए ।

केन्द्र तथा प्रदेश सरकारको अनुदान, नगर स्तरीय र वडाको समेत गरी सो रकम बराबरको नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरिएको हो । लालबन्दी नगरपालिकाले यस वर्ष एन्टिभेनम उत्पादन तथा अनुसन्धान आयोजनाका लागि समेत संघीय, प्रदेश र आफ्नो समेत अनुदान गरी १८ करोड ५८ लाख ३३ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ । सर्पदंशका बिरामीमा प्रयोग गरिने एन्टिस्नेक भेनम उत्पादनको लक्ष्यसहित लालबन्दीमा सो आयोजनाले जग्गा प्राप्ती गर्नेदेखि अन्य कामहरु अगाडि बढाईसकेको छ ।

यस्तै बरहथवा नगरपालिकाले ८३ करोड १० लाख ४४ हजार ४७० रुपैयाँ बराबरको आयव्यय सहितको बजेट पारित गरेको नगरपालिकाका कानुनी सल्लाहकार महेश बरालले जानकारी दिए । पालिकाहरुले असार १० मा गाउँ तथा नगर सभा सुरु गरी असार २५ मै समापन गर्नुपर्छ ।

तर वडा भेला गरी योजना छान्नेदेखि अन्य तयारीका काममा ढिलाई हुँदा केही दिन ढिलो गरी बजेट सार्वजनिक गरेका छन् । जिल्लाका अधिकांश पालिकाहरुले बजेट सार्वजनिक गर्ने दिन अझै पनि तोक्न समेत सकेका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *