सर्लाहीको मलंगवामा आज २ बजेदेखि भोलि बिहान ८ बजे सम्मका लागि कर्फ्यु जारी

अपराध धार्मिक समाचार

३ अशोज, सर्लाही। सदरमुकाम मलंगवामा अहिले शनिबार दिउँसो २ बजेबाट भोली (आईतबार) बिहान ८ बजेसम्म कर्फ्यू आदेश जारी भएको छ ।

प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले स्थानीय प्रशासन ऐन २०२८ अनुसार सर्बसाधारणलाई घर बाहिर निस्कनै नपाउने गरी कर्फ्यू आदेश जारी गरिएको बताए । गम्हरिया, खुटौना, मुसैली गाविस समेटिनु भन्दा अघिको मलंगवा नगरपालिका भित्र मात्र लागू हुनेगरी कर्फ्यू आदेश जारी भएको प्रजिअ पौडेलले जानकारी दिए ।

हिजो (शुक्रबार) मलंगवा नगरपालिका–३, मा विश्वकर्मा पूजाको मूर्ति बिसर्जन गर्न लैजाँदै गर्दा दुई पक्षबीच विवाद बढ्दै गएपछि झडप नै भएको थियो । प्रहरीका अनुसार स्थानीय हिन्दु समुदायले बिहिवार सामूहिक रुपमा गरेको विश्वकर्मा पूजाको मूर्ति बिसर्जन गर्न लैजाँदै गर्दा मुस्लिम समुदायको तर्फबाट अवरोध हुँदा झपड भएको भएको थियो । झडपमा दुवै पक्षका केही मानिस घाईते भएका छन् ।

झडपपछि विश्वकर्मा पूजाको मूर्ति अहिले जिल्ला प्रहरी कार्यालय मलंगवामा राखिएको छ । आज (शनिबार) बिहानैदेखि दुई पक्षबीच जिल्ला प्रहरी कार्यालयमा छलफल जारी रहेको अवस्थामा दुवै पक्षबाट निकै ठूलो मासहरु भेला हुन थालेपछि थप अपृय घटना नहोस् भन्ने अभिप्रायले कर्फ्यू आदेश जारी गरिएको स्थानीय प्रहरी प्रशासनले जनाएको छ । हिन्दु धर्मावलम्वीहरुले हिजो लगेकै बाटो हुँदै नजिकैको पोखरीमा लगेर मूर्ति बिर्सजन गर्ने र मुस्लिम समुदायले त्यो बाटो प्रयोग गर्न नदिने अडान लिएकाले सहमति पनि हुन नसकिरहेको एक प्रहरी अधिकृतले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *