सर्लाही आइपुग्यो सबा ५ लाख मतपत्र । सर्लाही टुडे

चुनाव राजनीति समाचार

स्थानीय तह निर्वाचन अन्तर्गत आगामी वैशाख ३० गते हुने मतदानका लागि सर्लाहीमा मतपत्र आइपुगेको छ ।

निर्वाचन आयोगले सर्लाहीका लागि पठाएको पाँच लाख १३ हजार थान मतपत्र शुक्रबार राती आएको हो । सर्लाहीको छ वटा पालिकाको मतपत्र दोहोर्याएर छाप्नु परेकाले जिल्लामा मतपत्र आउन केही दिन ढिलो भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय मलंगवाले जनाएको छ ।

सर्लाहीका लागि छापिसकिएको ४४ लहरको मतपत्रमा उल्लेख भएको स्वतन्त्र उम्मेदवारको चुनाव चिन्हभन्दा स्वतन्त्रमा धेरै उम्मेदवारी परेपछि जिल्लाको बरहथवा नगरपालिका, बलरा नगरपालिका, गोडैता नगरपालिका, ब्रम्हपुरी गाउँपालिका, चक्रघट्टा गाउँपालिका र रामनगर गाउँपालिकाको मतपत्र पुनः छापेर ल्याइएको छ । सदरमुकाममा आइपुगेको मतपत्र अब मतदान केन्द्रअनुसार छुट्याएर दुई दिनपछि ढुवानी सुरु गरिने सर्लाहीका मुख्य निर्वाचन अधिकृत ध्रुवकुमार पियाले जानकारी दिए ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले मतदान केन्द्रमा खटिने सहायक कर्मचारी र सहयोगी कर्मचारीको नामावली पनि शनिबार प्रकाशन गरेको छ । मतदान अधिकृत र सहायक मतदान अधिकृतको नामावली यसअघि नै प्रकाशन गरी प्रशिक्षण समेत प्रदान गरिसकिएको छ । सर्लाहीमा निर्वाचनका लागि करिव तीन हजार कर्मचारी परिचालन हुँदै छन् । सर्लाहीमा ३१८ वटा मतदानस्थल अन्तर्गत ५९९ वटा मतदान केन्द्र रहेका छन् । ती ५९९ मतदान केन्द्रमा सुरक्षाकर्मीबाहेक एक जना मतदान अधिकृत, एक जना सहायक मतदान अधिकृत, दुई जना सहायक कर्मचारी, एक जना कार्यालय सहयोगी र तीन जना स्वयंसेवक खटिने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *