सर्लाहीको बयलवासमा निषेधाज्ञा जारी

अपराध दुर्घटना समाचार

सर्लाहीको ईश्वरपुर नगरपालिकास्थित बयलवास बजार क्षेत्रमा मङ्गलबार दिउँसो ३ बजेदेखि निषेधाज्ञा जारी गरिएको छ ।

 

प्रहरी भ्यानको ठक्करबाट ईश्वरपुर नगरपालिका–५, सखुबनी खुबलाल टोलका ३० वर्षीय रामकुमार महतोको मृत्यु भएको घटनालाई लिएर आक्रोशित स्थानीयवासीले आन्दोलन चर्काएपछि जिल्ला प्रशासन कार्यालय सर्लाहीले बुधबार साँझ ७ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको हो । इलाका प्रहरी कार्यालय केशरगञ्जबाट पूर्व ईश्वरपुर नगरपालिका ४ सागरनाथ टोलसम्म, पश्चिममा ईश्वरपुर नगरपालिका ८ रामपुर टोलसम्म, उत्तरमा वडा नं. ५ सखुवनी टोलसम्म र दक्षिणमा ईश्वरपुर नगरपालिका ९ खोरिया टोलसम्म निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ ।

निषेधाज्ञाको अवधीमा कुनै पनि किमिसको भेला हुन, बाहिर हिँड्डुल गर्न र राजनीतिक सभा तथा गतिविधि गर्न नपाइने उल्लेख छ । सार्वजनिक सम्पतिमा तोडफोड, आगजनीलगायत विरोध प्रदर्शनका कारण सर्वसाधारणको सुरक्षा पर्न सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी स्थानेश्वर गौतम लें बताउनु भयो ।

पीडित पक्षसँग भएको वार्तामा कुनै सहमती हुन नसकेको र आन्दोलत नियन्त्रण बाहिर गएपछि प्रशासनले निषेधाज्ञा जारी गरेको हो । निषेधाज्ञाकैबीच स्थानीयवासीले बयलवास बजारमै रहेको इलाका प्रहरी कार्यालय केशरगञ्ज अगाडि नाराबाजी जारी राखेका छन् ।

आन्दोलित स्थानीयवासी र प्रहरीबीच मंगलबार बिहानैदेखि बारम्बार झडप भएको छ । प्रहरीले स्थिति नियन्त्रणमा लिन दर्जनौँ शेल अश्रुग्याँससहित हवाइ फायर गरेपनि प्रदर्शन रोकिएको छैन ।

दोहोरो झडपमा जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी निरीक्षक कृष्ण गिरीसहित डेढ दर्जन नेपाल प्रहरी, सोही हाराहारीमा सशस्त्र प्रहरी पनि घाइते भएका छन् । प्रहरीले चलाएको गोली लागेर केही आन्दोलित स्थानीयवासी घाईते भएको भनिएपनि उनीहरुको परिचय खुल्न सकेको छैन ।

आन्दोलित स्थानीयवासीले ईश्वरपुर नगरपालिकाका प्रमुख मनोज कुमार देवकोटामाथि समेत आक्रमण गरेका छन् । मृतक रामकुमार महतोको परिवारसँग भेट्न उहाँकै घरमा पुग्नुभएका नगर प्रमुख देवकोटामाथि त्यहीँ आक्रमण भएको हो ।

घाँटीमा चोट लागेर घाइते नगर प्रमुख देवकोटा उपचारका लागि महोत्तरीको बर्दिवास पुग्नु भएको छ । नगर प्रमुख देवकोटा चढ्ने ना १ झ १५७० नम्वरको सुमोको सिसा पनि तोडफोड भएको छ ।

आइतबार राति ईश्वरपुर नगरपालिका–७ मा ईलाका प्रहरी कार्यालय केशरगञ्जको गस्तीमा हिँडेको भ्यानले ना ४३ प ५०१८ नम्वरको मोटरसाइकललाई ठक्कर दिँदा रामकुमारको मृत्यु भएको थियो । उहाँको मृत्युपछि स्थानीयवासी सोमबार देखिनै आन्दोलित छन् ।

आन्दोलित स्थानीयले सोमवार अपराह्न इलाका प्रहरी कार्यालय हरिपुरको जिपमा आगजनी समेत गरेका थिए । तनाव बढ्दै गएपछि बयलवासमा २ नम्बर प्रदेश प्रहरी कार्यालयबाट वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) मसाउँद आलम खाँको नेतृत्वमा ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ ।

एसएसपी खाँ, प्रमुख जिल्ला अधिकारी स्थानेश्वर गौतम, प्रहरी उपरीक्षक कृष्ण प्रसाईसहित जिल्लाका सुरक्षा अधिकारीहरु घटनास्थलमै रहनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *