सीडीओ र एसपी तासमा मग्न, गृह मन्त्रालय भन्छ- कारबाही गर्छौं

अपराध समाचार

सर्लाहीका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख तथा सशस्त्र प्रहरी प्रमुखलगायत उच्च अधिकारी सार्वजनिक स्थलमै तास खेलिरहेको भिडियो सार्वजनिक भएको छ । जिल्लाको शान्ति सुरक्षा तथा कानुन कार्यान्वयनको जिम्मेवारी लिएका सीडीओ र एसपी आफैँ तासमा मग्न भएको भीडियो सार्वजनिक भएको हो ।

जिल्लामा हुने सामान्य अपराधिक घटनादेखि जघन्य अपराधसम्मका घटना नियन्त्रणमा सीडीओ र प्रहरी प्रमुखको सक्रियताको अपेक्षा आम मानिसमा हुन्छ ।

तर, सर्लाहीका सीडीओ रामकुमार महतो, प्रहरी प्रमुख एसपी सन्तोष सिंह राठौर र सशस्त्र प्रहरी बलका प्रमुख एसपी गंगाराम श्रेष्ठसहितको टोली आफैँ सार्वजनिक स्थलमै तासमा मस्त भएको भिडियो सार्वजनिक भएको हाे ।

भिडियोमा उनीहरू पदीय पर्यादा भूलेर सार्वजनिक स्थानको कुनै चउरमा बसेर तासमा मस्त भएको देखिन्छ ।

एकातर्फ प्रहरीले नै दिनदिनै जुवातास खेल्ने मानिसलाई पक्राउ गर्दै सीडीओ कार्यालयले मुद्दा चलाउँदै आएको छ । जुवातासमा मुद्दा चलाउने अधिकार सिडीओ कार्यालयसँग हुन्छ । तर, सर्लाहीका सीडीओ महत र एसपी राठौर आफैँ तासमा मस्त भएका छन् ।

जुवातास खेल्नु कानुनविपरितको काम मानिन्छ । जुवा ऐन २०२० अनुसार, जुवा खेल्दा वा खेलाउँदा पहिलोपटक पक्राउ परे दुई सय रुपैयाँ जरिवाना र दोस्रो पटकदेखि भने बढीमा नौ महिना कैदको व्यवस्था छ ।

यसलाई बढाएर मुलुकी अपराध संहिता २०७५ ले पहिलो पटक जुवा खेल्ने वा खेलाउनेलाई तीन महिनासम्म कैद वा ३० हजारसम्म जरिवानाको व्यवस्था गरेको छ ।

दोस्रो पटकमा एक वर्षसम्म कैद वा ५० हजारसम्म जरिवाना तोकिएको छ । दोस्रो पटक सजाय भुक्तान गरेर पक्राउ परेमा हरेक पटक थप तीन महिनासम्म कैद र १० हजार रुपैयाँसम्म जरिवाना तिर्नुपर्ने व्यवस्था छ ।

@shilapatra बाट साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *