संसद् विघटनविरुद्ध जसपाले आज सर्लाहीसहित देशभर प्रदर्शन गर्दै

राजनीति समाचार

८ पुष सर्लाही – जनता समाजवादी पार्टी (जसपा) ले संघीय संसद् विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध आज (वुधवार) बाट सर्लाहीसहित देशभर आन्दोलन सुरु गर्दैछ ।

काठमाडौंमा बसेको पार्टीको कार्यकारिणी समितिको बैठकले गरेको निर्णय अनुसार आज दिउँसो सदरमुकाम मलंगवामा प्रदर्शन गर्ने तयारी गरिएको जसपाका नेता एवं कविलासी नगरपालिकाका मेयर कौशलकिशोर यादवले दिए । मलंगवा बजार क्षेत्रमा जनप्रदर्शन गरी कोण सभा गरिने रायले उज्यालो अभियानसँग भने । कोण सभालाई जसपाका जिल्ला स्तरीय नेताहरुले सम्वोधन गर्नेछन् । सो पार्टीले भोली ९ गते आन्दोलन र संघर्ष तयारीका लागि देशभरी पार्टी कमिटीहरुका बैठक गर्ने, १० गते राष्ट्रपति र प्रधानमन्त्रीको सबै जिल्लामा पुत्ला दहन गर्ने, ११ गते मसाल जुलुस र १२ गते सबै जिल्लामा बृहत् प्रदर्शन गर्ने कार्यक्रम तय गरेको छ ।

पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले संविधानमा हुँदै नभएको धारालाई टेकेर संसद् विघटन गरिएको भन्दै सभामुखलाई प्रतिनिधिसभाको बैठक बोलाउन आह्वान गर्ने पनि निर्णय गरेको छ । प्रधानमन्त्रीको सो कदमविरुद्ध अहिले देशभर धेरैजसो ठाउँहरुमा विरोधमा र केही ठाउँमा समर्थनमा समेत दिनहुँ प्रदर्शन भइरहेका छन् । बद्लिँदो राजनीतिक घटनाक्रमलाई मध्यनजर गर्दै सर्लाहीसहित देशभर नै सुरक्षा सतर्कता बढाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *