सर्लाहीमा वर्षाको पानीले निर्माण गर्दा गर्दै छाडिएका सडकको बिजोग

देश समाचार

३१ असार सर्लाही: बनाउँदा बनाउँदै छाडिएका सर्लाहीका विभिन्न सडक वर्षाको पानीले अत्यन्त खराब भएका छन् ।

काम गर्दा गर्दै बजेट अभाव, विभिन्न किसिमको विवाद र अन्य कारणले अलपत्र छाडिएका सडक पानी परेपछि ओहोरदोहार नै प्रभावित हुने गरी बिग्रिएका हुन् । आर्थिक वर्षको अन्तिममा कतिपय सडक भने रातदिन नभनी अहिले पनि स्तरोन्नतिको काम भइरहेको छ ।

हतार हतारमा गरिएका ग्राभेल, ढलान र कालोपत्रेको काम कमसल रहेको स्थानीय वासिन्दाले गुनासो गरेका छन् । जिल्लाको पश्चिमी भेगस्थित बरहथवा बजारदेखि हजरियासम्म जाने मुख्य सडक अहिले दयनीय अवस्थामा पुगेको छ । सडकको काम अलपत्र छाडिँदा बरहथवा बजारदेखि हजरियासम्मको सडक हिलाम्मे हुँदा पैदल हिँड्न तथा साइकल, मोटरसाइकल लगायत अन्य सवारी चलाउन समस्या भएको हो |

सर्लाहीका अन्य पालिकाहरुमा पनि अहिले आकाशे वर्षा भइरहेका बेला बजेट सक्न भन्दै कमसल किसिमले सडक निर्माणको काम चलिरहेको छ । दक्षिणी भेगका कतिपय ठाउँमा जनप्रतिनिधिकै मिलेमतोमा उपभोक्ता समितिका टाठाबाठा पदाधिकारीले वास्तविक रुपमा सडक स्तोन्नतिको केही कामै नगरी कागज मिलाएर भुक्तानि समेत लिएका छन् ।

जनप्रतिनिधिबीच टकराब रहेको जिल्लाको हरिपूर्वा, विष्णु, बलरा, रामनगर लगायतका पालिकाहरुमा विकास निर्माणका काम प्रभावित भएका छन् । पालिकाका जनप्रतिनिधिको टकराबले विकास निर्माणका काम ठप्प जस्तै हुँदा दक्षिणी भेगमा पर्ने पालिकाका स्थानीय निराश भएका छन् ।

बर्सेनि पालिकामा करोडौंको बजेट आएपनि जनप्रतिनिधि चुनिएर आएको यत्तिका समयसम्म सडक, स्वास्थ्य, शिक्षा लगायत क्षेत्रमा केही सुधार हुन नसकेको स्थानीय वासिन्दाले गुनासो गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *