सर्लाहीको कबिलासीमा स्यालो ट्युबवेल जडान भएपछि किसान खुसी

देश समाचार

कविलासी – वर्षौदेखि सिँचाईको समस्या झेल्दै आएका सर्लाही कविलासीका किसान स्यालो ट्युबवेल जडान भएपछि खुसी भएका छन् ।

सर्लाही क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य महेन्द्र राय यादवको निर्वाचन क्षेत्र विकास कोषको रकम र कविलासी नगरपालिकाको संयुक्त लगानीमा स्यालो ट्युबवेल जडान गरी प्रयोगमा ल्याइएको छ । किसानले सोही स्यालो ट्युबवेलबाट यस वर्ष धान रोपाइँ समेत गरिसकेका छन् । ट्युबवेल जडान भएपछि यो वर्ष सहज रुपमा रोपाइँ गर्न पाएको स्थानीय किसान सदानन्द मण्डलले बताए । सिँचाई सुविधा भएपनि सरकारले मलखाद उपलब्ध नगराउँदा धान रोप्न समस्या भएको उनले गुनासो गरे ।

बाग्मती सिँचाई आयोजनाको नहरबाट पानी नलाग्ने कविलासी नगरपालिकाको वडा नं. ८, ९ र १० मा पर्ने अगर्वा, कविलासी, सलेमपुर र भलुवाहा गाउँमा १०९ वटा ट्युबवेल जडान गरिसकिएको छ । एउटा स्यालो ट्युबवेलबाट चार विगाह जमिनमा सिँचाई सुविधा पुग्छ । तीनवटा वडामा १२१ वटा ट्युबवेल जडान गर्ने स्टिमेट रहेको कविलासी नगरपालिका कार्यालयले जनाएको छ ।

सांसद यादवको निर्वाचन क्षेत्र विकास कोषको ५० लाख रुपैयाँ र नगरपालिकाको करिव ४३ लाख रुपैयाँ लागतमा किसानलाई सहज रुपमा सिँचाई सुविधा उपलब्ध गराउन स्यालो ट्युबवेल जडान गरिएको कविलासी नगरपालिकाका मेयर कौशल किशोर यादवले जानकारी दिए । ट्युबवेल जडान गर्न किसानहरुबाट रकम असुल गरेको गुनासो समेत आएको छ । तर मेयर यादवले भने ट्युबवेलको दीर्घकालिन टिकाउका लागि गिट्टी हाल्नका लागि मात्रै जनसहभागिता अन्तर्गत किसान आफैले राजीखुसी थोरै रकम उठाएर आवश्यकता अनुसार गिट्टी हालेका दावी गरेका छन् ।

मेयर यादवले ट्युबवेल जडान गर्ने उपभोक्ता समितिलाई अहिलेसम्म भुक्तानि समेत नगरिएको र लागेको सम्पूर्ण खर्च उपभोक्ता समितिले नै बेहोरेका कारण कुनै किसिमको अनियमिता नभएको बताए । अनियमिताको आरोप लागेपछि मेयर यादवले आइतवार पत्रकारहरुलाई जडित स्यालो ट्युबवेलको अनुगमन नै गराएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *