बस्ती जोखिममा पर्ने गरी खोला छेउमै अनियन्त्रित उत्खनन, स्थानीय त्रसित

देश समाचार

२९ असार सर्लाही: सर्लाहीको बरहथवा नगरपालिका–११, हीरापुरमा बस्ती नै जोखिममा पर्ने गरी निरन्तर उत्खनन भइरहँदा स्थानीय वासिन्दा त्रसित भएका छन् । हीरापुर ब्यारेजदेखि उत्तरतर्फ खोलासँगै सटिएको जमिनमा गहिरो पोखरी बनाएर व्यापक मात्रामा गिट्टी निकाल्ने काम भइरहेको स्थानीय हरिप्रसाद वाग्लेले जानकारी दिए । खोलाको पानी नै बहन अवरोध हुने गरी उत्खननको काम भइरहेको स्थानीय वासिन्दाले बताएका छन् ।

गिट्टी निकाल्न खनिएको पोखरीको बाँधले खोलाको पानी रोकिएपछि गाउँ डुब्ने त्रास छ, ७५ वर्षीय वृद्ध वाग्लेले भने, ‘डरलाग्दो अवस्था हुँदा समेत कसैले चासो दिएका छैनन् ।’ स्कारभेटर लगाएर खनिएको पोखरीबाट निकालिएको गिट्टी लिन अहिले दैनिक सयौँ ट्याक्टर दौडिँदा गाउँको सडक प्रयोग गर्न नसक्ने अवस्थामा पुगेको अर्का स्थानीय शिवकुमार लालले गुनासो गरे ।

जथाभावी उत्खननले बस्ती जोखिममा पर्नुका साथै ट्याक्टर दौडियर सडक छियाछिया हुँदा समेत जनप्रतिनिधिले चासो नदिएका स्थानीय वासिन्दाले गुनासो गरेका छन् । हीरापुरबाट निकालिएको गिट्टी सर्लाहीकै बसबरिया, धनकौल, गोडैता लगायत दक्षिणी भेगका पालिकाहरुमा निकासी भइरहेको छ । आर्थिक वर्ष सक्किन अब दुई दिनमात्रै बाँकी हुँदा वर्षा भइरहेकै समयमा अधिकांश पालिकाहरुमा धमाधम सडक स्तरोन्नतिको काम भइरहेको छ ।

बरहथवा नगरपालिका–११, का वडाध्यक्ष राम कलस मुुखिया विनले आफूले पटक–पटक रोक्न खोज्दा पनि ठेकेदारले नगरपालिकाबाट स्वीकृति लिएको भन्दै उत्खनन गर्न नछाडेको दावी गरेका छन् । प्रहरी लगाएर ट्याक्टर रोक्दा नगरपालिकामा कर बुझाएको छ भन्छन््, ‘वडाध्यक्ष मुखियाले भने, नगरपालिकाले कसरी कर असुली गरी गिट्टी निकासी गर्न स्वीकृति दियो ? त्यो त मलाई पनि थाहा छैन् । वडाध्यक्ष मुखियाले अहिले भइरहेको उत्खननले जनधनको क्षति हुने अवस्था रहेको स्वीकारेका छन् ।

आफूले भनेपछि गिट्टी निकासी गर्ने ठेकेदारले एक पटक सडकमा ग्राभेल हालेको भएपनि वर्षाको पानीले सबै बगाएको वडाध्यक्ष मुखियाको भनाई छ । उनका अनुसार जग्गाधनी रामबली महतो र राशनारायण मुखिया आफैले पोखरी बनाएर गिट्टी निकाल्ने काम गरिरहनु भएको हो । हीरापुर ब्यारेज नजिकै गिट्टी लिन जाने ट्याक्टरसँग प्रति ट्याक्टर चार सय रुपियाँ लिएर रसिद काट्ने गरिएको छ ।

बरहथवा नगरपालिकाका मेयर देवानन्द महतोले असार लाग्ने बित्तिकै नगर कार्यपालिकाले खोलानाला तथा निजी आवाधी जग्गा उत्खनन गर्न रोक लगाएको बताए । रोक लगाएपनि लकडाउनले गर्दा पछि धकेलिएका विकासका कामका लागि उत्खनन भएको र साउन लागेपछि बन्द गरिने मेयर महतोले बताए । असार अन्तिम भएकाले अहिले हामीलाई पनि चटारो छ, साउन लाग्ने बित्तिकै यसबारेमा नीति बनाउँछौँ, मेयर महतोले भने ‘उत्खननले पारिरहेको असरबारे हामी पनि चिन्तित छौँ, स्थानीय वासिन्दाले मसँग पनि गुनासो गरेका छन् ।’

सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले निजी जग्गा उत्खनन गर्न रोकावट नरहेको तर उत्खनन गर्दा अन्य पक्षलाई बाधा पुग्न नहुने बताए । हीरापुरमा भइरहेको उत्खननले बाधा पु¥याएको गुनासो आफू समक्ष पनि आएको र बाधा पुगेको सही सत्य हो/होईन भन्ने बारेमा बुझ्ने काम भइरहेको प्रजिअ जिसीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *