सर्लाही अस्पतालमा राखिएका शवले दुर्गन्ध फैलाएको भन्दै स्थानीयबासी आक्रोशित

समाचार

मलंगवा : सर्लाही अस्पताल मलंगवामा पोष्टमार्टम गरी राखिएका शवले दुर्गन्ध फैलाएको भन्दै अस्पताल छेउछाउका स्थानीयबासी आक्रोशित बनेका छन्। अस्पतालमा राखिएका शवले टोलनै दुर्गन्धित बनाएको भन्दै मलंगवा नगरपालिका ८ का स्थानीयबासी आक्रोशित बनेका हुन् । स्थानीयबासी बुधबार बिहान अस्पतालमा पुगेर अस्पताल प्रशासनलाई शव व्यवस्थापन गर्न र टोल दुर्गन्धबाट बचाउन आवश्यक पहल गर्न सुझाव दिएका छन् ।

पोष्टमार्टम गरेर शव केही दिन अस्पतालमै राखिएकाले टोल नै दुर्गन्धित बनेको स्थानीय अनिल रौनियार गुडुले बताए। ‘दुर्गन्ध पुरै टोलमा फैलिएको छ । घरमा बस्न सक्ने अवस्था छैन, उनले भने, ‘फ्रिजमा नराखेर त्यतिकै राख्दा पुरै टोल दुर्गन्धित भएको हो, यसलाई जतिसक्यो व्यवस्थापन गर्नुपर्छ।’

पटकपटक गुनासो गर्दा पनि शव व्यवस्थापन हुन नसकेको स्थानीय सुनिल गुप्ताले बताए। उनले भने, ‘यस्तै अवस्था रह्यो भने पुरै टोलमा महामारीको अवस्था सृजना हुन्छ।’

शव राख्ने डिफ्रिज नहुँदा समस्या भएको सर्लाही अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.संजीव कुमार सिंहले गुनासो गरेका छन् । पहिचान भएको शव पोष्टमार्टम गरेर चाँडै पठाउँछौं ।

उनका अनुसार बेवारिसे शव आउँदा समस्या हुन्छ ।पोष्टमार्टम गरेपनि मृतकका आफन्त नआउँदासम्म  ३ दिन राख्नै पर्छ । बेवारिसे शवले गर्दा समस्या भएको हो। डिफ्रिज भयो भने कुनै समस्या हुँदैन।

प्रदेश सरकारको मातहतमा अस्पताल छ। डिफ्रिज किन्न ठूलो रकम चाहिने मलंगवाका मेयर निरसल साहले बताए।

‘आफू एक्लैले किनेर सम्भव छैन। प्रदेश सरकारको मातहतमा अस्पताल छ। नगरपालिकाको बजेट यसमा दियो भने विवाद हुन्छ। तैपनि आफूले ५ लाख सहयोग गर्ने मेयर साहले बताए।

प्रदेश सरकारसँग डिफ्रिज मागका लागि आवश्यक पहल गर्ने जिल्ला समन्वय समिति सर्लाहीका सभापति मेथुर चौधरीले बताए।स्थानीय तहका प्रमुखको बैठक बोलाएर पनि त्यस विषयमा छलफल गर्ने र आवश्यक सहयोग माग्ने सभापति चौधरीले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *